बाल मन्दिर प्राथमिक विद्यालयमा दरखाने कार्यक्रम सम्पन्न

 भाद्र २४, २०८०

पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं. ५ मा रहेको श्री बाल मन्दिर प्राथमिक विद्यालयले एक कार्यक्रमकाे आयोजना गरी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।

    महिलाहरूको महान चाड हरितालका (तीज) काे पावनअवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विपिन गुरूङ, प्र.अ. लोकबहादुर राना, विद्यालयमा अध्यापनरत शिक्षकहरू लगायत विद्यार्थीहरूको उपस्थिति रहेको थियो । 

    कार्यक्रममा बोल्ने क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विपिन गुरूङले तीज कसरी मनाइन्छ भन्ने प्रसंगमा हिन्दु नारीहरु विवाहित वा अविवाहित सबैले यो पर्वलाई मनाउन र धारण गर्न सक्ने कुरा बताउँदै भाद्र शुक्ल द्वितीयादेखि भाद्र शुक्ल पञ्चमीसम्म चार दिन यो पर्वलाई स्वतन्त्रता र आनन्दमय उल्लासको रुपमा पनि लिइन्छ । विशेषतः भगवान शिवकै पुजा र आरधाना गरी मनाईने हरितालिका तीजको व्रतले पतिको आयु, आरोग्य, ऐश्वर्य तथा स्वस्थ्य राम्रो र सम्मुनत हुने विश्वास परापूर्वकालदेखि नै रहिआएको छ । स्वयं माता पार्वतीले पति शिवलाई पति पाउँ र शिवको स्वास्थ्य, आयु एवं ऐश्वर्यमा कुनै बाधा नपुगोस् भन्ने दृढ चाहना राखेर व्रत गरिएकाले हालसम्म पनि यसले निरन्तरता पाइरहेको छ । यस्तो पवित्र उद्देश्य र संकल्प रहेको हरितालिका तीजको नामले प्रख्यात पर्व केही समय यता धार्मिक पर्वका नाममा सामाजिक विकृति बनेर आइरहेको पनि देखिन्छ ।

    विशेषतः यस पर्वलाई चेलिबेटी तथा दिदीबहिनी पुनर्मिलनको आनन्दमय उत्सवको रुपमा मनाउनुपर्ने वास्तविकता हो । लामो समयसम्म भेटघाट नभएका चेलिबेटि माइतीमा भेला भएर सुख दुःख, उन्नति प्रगति आदिका बारेमा चर्चा परिचर्चा गर्दै दाजु–भाई, माता पिता सबैको सामूहिक उल्लासलाई हर्षोल्लासमय रुपमा माइतीको गाउँ, ठाउँ र देशमा मनाउनु पर्ने पर्व अहिले आएर पार्टी प्यालेस र होटलहरूलाई माइती मानेर मनाइँदै गर्न थालिएको पनि छ । यसले हाम्रो धर्म, संस्कृति, संस्कार र सामाजिक अवस्थालाई नकरात्मकता तर्फ लैजाने भएकोले सोच्नु पर्ने हुन्छ । 

    थप्दै भन्नुहुन्छ हरितालिका तीजको प्रथम दिन अर्थात भाद्र शुक्ल द्वितीय दर खाने दिन हो शरीरलाई पोषकयुक्त, गुणस्तरीय एवं स्वास्थवर्धक वस्तु खाएर मनाउनु राम्रो हुन्छ । दोस्रो दिन हरितालिका तीज भाद्र तृतीय, मुख्य व्रत र उपासनाको दिन हो । उप र वास, उप अर्थात नजिक र वास भनेको बस्नु हो । कसका नजिक बस्नु ? भगवानका नजिक बस्नु सत्यको निकट बस्नु असत्य, अहङ्कार विकृती र विसंगतीबाट टाढा रहनु नै उपवासको सहि अर्थ र व्रतको सार्थकता हुने भएकाले शान्त, प्रसन्न एवम् दृढ संकल्पका साथ हरितालिकाको व्रत बस्नाले सबैका लागि हितकार हुन्छ ।

    शरीर, मन र वचनले शुद्ध भएर दियो, कलश गणेश स्थापित गरी उमामहेश्वरको पूजा गरी आफ्नो संकल्पलाई सार्थक पार्न गरिने निस्काम व्रत नै हरितालिका तीजको प्रमुख व्रत मानिन्छ । शिव पार्वतीको प्रतिमामा पूजा गर्नाले नै पतिको अतिरिक्त सम्पुर्ण परिवारको नै आयु, आरोग्य, सौभाग्य एवं श्रीबृद्धि हुने विश्वास यस व्रतको हो । हरितालिका व्रत कथा सुन्ने चलन पनि छ । शिवजीले पार्वतीलाई पूर्व जन्मको स्मरण गराएको महात्म्य नै हरितालिका व्रत कथा हो । एवं रितले तेस्रो दिन गणेश चौथी पर्दछ । व्रतको उद्यापन गरि सामान्य शुद्ध भोजन गरि पंञ्चमी पुजा गरेपछि हरितालिका तीज समाप्त हुन्छ भन्दै विद्यार्थीहरूलाई जानकारी दिँदै सबैलाई तीजकाे शुभकामना व्यक्त गर्नु भएको थियो ।

    त्यस्तै प्र.अ.ले तीजमा के गर्ने के नगर्ने भन्ने सन्दर्भ उठाउँदै पवित्र उद्देश्य र दृढ संकल्पका साथ सम्पन्न गरिने दरका नाममा अभक्ष, अखाद्य एवम् आफ्नो स्वास्थ्यलाई प्रतिकुल असर गर्ने भोजन नगर्ने । हामीले सुन्दै र पढ्दै आइरहेका छौं कि कहीँ अखाद्य भोजनका कारण गाउँ नै बिरामी पर्‍यो, कहीँ इनारको पानी प्रयोग गरि दर पकाएका कारण वडाका सबै महिला बिरामी परे । कहीँ दर खाएर घर फर्कदै गरेकी युवती दुर्घटनामा परिन् । यी र यस्ता समाचार थुप्रै छन् । अतः आफ्नो इष्टमित्र, अत्यन्त निकट छिमेकी तथा साथीभाइबीच सम्बन्ध सुमधुर बनाउनु सुखद् विषय हो । सम्बन्ध दर खाएर र खुवाएर मात्र सुदृढ हुने होइन । यो त व्यवहार, आदर्श र भावनाले हुने विषय हो । यो वर्ष जे गर्‍याैँ गर्‍याैँ । आगामी दिनमा दरखाने निहुँमा दरलालाई भड्किलो नबनाऔं । मौलिक संस्कृति अनुरुप हरितालिका पर्व मनाउने गराैं । 

    हामी समाजमा बस्छाैं, हामी सामाजिक प्राणी हो । कतिपयले एउटा जीवनजल र सिटामोल नपाएर मृत्युवरण गर्न वाध्य छाैं । कतियप हामी दैनिक दरका नाममा फजुल खर्च गरिरहेका छौं । हरितालिका तीजको उपहार विपन्न बालबालिकाहरुलाई पुरस्कार’ भन्ने सोच पनि बनाउन सक्छौं । तीजले नकारात्मक भावनाको अन्त्य गरी सकारात्मक सोच र भावनाको विकास गर्न सक्नु पर्दछ ।

    हामी व्रतालुहरु व्रतको दिन मन्दिर जान्छौं, गहना तीजको संस्कृती नै हो । हामी तीजमा विशेष श्रृंगार गर्छौं, आफूलेसके अनुसारको पहिरन लगाउँछौं । ठीक गरगहना र मन्दिर जाँदाको होसियारीप्रति सबैको ध्यान पुग्नु जरुरी छ । श्रृंगार तथा गरगहना उत्ताउलो होइन शालिन र भद्र हुनुपर्छ । तीज संस्कार र संस्कृतिले पूर्ण बन्न सक्नु पर्दछ । यसैमा  तीजको महत्व छ भन्दै सबैलाई तीजकाे शुभकामना व्यक्त गर्नु भएको थियो ।

    कार्यक्रममा विद्यार्थीहरू रमाइरमाइ तीजका गीतमा नाचिरहेका थिए भने उनीहरूलाई विद्यालयका शिक्षिकाहरूले पनि साथमासाथ  दिइरहेका  थिए ।


Post a Comment

0 Comments