फिनल्यान्ड र हाम्रो शिक्षा प्रणाली तुलनाको ‘दुष्प्रयास’ !


परीक्षा कम गर्न कुनै साधन र स्रोत जरूरी पर्दैन। विद्यार्थीलाई दण्ड र सजाय नदिने प्रतिबद्घता गर्न पनि पैसा चाहिंदैन । यस्ता थुप्रै सन्दर्भ छन्, जहाँ फिनिस शिक्षा प्रणालीबाट नेपालले सिक्न सक्छ । 

फिनल्यान्ड संसारको उत्कृष्ट शिक्षा प्रणाली भएको मुलुक मानिन्छ । फिनल्यान्ड शतप्रतिशत साक्षरता भएको समृद्ध मुलुक हो । फिनल्यान्डको जस्तो साधन–स्रोत उपलब्ध गराउने सामथ्र्य नेपालले नराखे पनि फिनल्यान्डको शिक्षा प्रणालीका केही सकारात्मक पक्षलाई अनुकरण गर्दै हाम्रो अस्तव्यस्त शिक्षा प्रणालीलाई सुधार्न नसकिने होइन । संसारकै लागि अनुकरणीय मानिने फिनल्यान्डको शिक्षा कस्तो छ त भन्ने आम जिज्ञासा केही हदसम्म भए पनि मेटाउने उद्देश्यका साथ यहाँ फिनल्यान्डको शिक्षा प्रणालीका केही महत्वपूर्ण  विशेषता उल्लेख गर्ने प्रयत्न गरिएको छः

१. सबै सरकारी विद्यालयः  फिनल्यान्डको शिक्षामा निजी विद्यालय छैनन् । सबै शिक्षा सरकारी छ । स्कूलदेखि उच्च तहसम्मको शिक्षा निःशुल्क छ । त्यहाँ शिक्षाको व्यापार छैन । विद्यार्थीलाई ‘ब्रेक टाइम’ मा निःशुल्क पोषणयुक्त खाजा सरकारले नै उपलब्ध गराउँछ । विद्यार्थीलाई आवश्यक कापी, किताब र कलम आदि शैक्षिक सामग्री पनि सरकारले नै दिन्छ ।

२. निश्चित परीक्षा नहुनुः  हाम्रोमा जस्तो एउटै सत्रमा चार पाँच वटा परीक्षा लिने पद्धति त्यहाँ छैन । त्यहाँ एउटै मात्र परीक्षा हुन्छ, जसलाई ‘नेशनल मेट्रिकुलेसन इक्जाम’ भनिन्छ । यो कक्षा–१२ सरहको हुन्छ । फिनल्यान्डका स्कूलका सबै विद्यार्थीलाई शिक्षकले व्यक्तिगत रूपमा तोके अनुसारको ग्रेड दिन्छन् । विद्यालयमा कसरी बढी अङ्क ल्याउने भन्दा कसरी रमाइलो र स्वस्थ वातावरण सिर्जना गर्न सकिन्छ भन्ने कुरामा जोड दिइन्छ । यहाँ विद्यार्थी असफल विरलै मात्र हुन्छन् ।

३. छोटो विद्यालय समयः  फिनल्यान्डका विद्यालयमा हाम्रोमा जस्तो बढी समय पढाइँदैन । त्यहाँका स्कूल प्रायः ९ बजे वा ९ः४५ भित्र खुलिसक्छन् र दिउँसो २ः०० वा २ः४५ भित्र बन्द भइसक्छन् । एक दिनमा विद्यार्थीले दुई वटा कक्षा मात्र लिनुपर्छ । एउटा कक्षामा १५ मिनेट मात्र पढाइ हुन्छ । उनीहरूसँग खाजा खाने, मनोरञ्जन गर्ने र खेल्ने समय प्रशस्त हुन्छ । यहाँका कक्षामा निकै कम विद्यार्थी हुन्छन् । यहाँका विद्यार्थीलाई ६ वर्षसम्म एउटै शिक्षकले निरन्तर पढाउँछन् (ग्रेड टिचिङ) । त्यहाँ विद्यार्थीलाई परिवारको जस्तै माया र सद्भावपूर्ण वातावरणमा सिकाइको अवसर प्राप्त हुन्छ ।

४. शिक्षकप्रति उच्च सम्मानः  फिनल्यान्ड शिक्षकको उच्च सम्मान गर्ने मुलुक मानिन्छ । फिनल्यान्डमा शिक्षकको सामाजिक प्रतिष्ठा डाक्टर, इन्जिनियरको भन्दा निकै माथि हुन्छ । शिक्षक हुनु त्यहाँ गौरवको विषय हो । फिनल्यान्डमा जुनसुकै तहको शिक्षक हुनका लागि पनि स्नातकोत्तर उत्तीर्ण गरेकै हुनुपर्छ । स्नातकोत्तर गरेका मध्ये पनि १० प्रतिशत योग्यतमले मात्र शिक्षक बन्ने अवसर पाउँछन् जो ‘टप ग्रेजुएट’ ठानिन्छन् । विद्यालयमा पनि शिक्षकले कुनै तनाव झेल्नु  पर्दैन । शिक्षकलाई अनावश्यक जिम्मेवारी पनि दिइँदैन । शिक्षकबाट केही कमी–कमजोरी भयो भने प्रधानाध्यापकले त्यसको सुझबुझर्ण समाधान गर्छन् । शिक्षकले करीब चार घण्टा मात्र विद्यालयमा बिताउँछन् जहाँ धेरै समय आरामको लागि छुट्याइएको हुन्छ । शिक्षकले आराम गर्ने छुट्टै कोठा समेत हुन्छन् ।

५. प्रतिस्पर्धाको अभावः फिनिस विद्यालयमा विद्यार्थीलाई आपसमा भिडाउने काम गरिंदैन । एकअर्काका बीचमा प्रतिस्पर्धा होइन, सहयोग र समझ्दारी गर्न सिकाइन्छ । प्रतिस्पर्धाले एकअर्कामा अविश्वास, रिसराग र प्रतिशोधको भावना सिर्जना गर्ने भएकाले यस्ता कुरामा फिनिस शिक्षा सचेत रहेको देखिन्छ । सानैबाट एउटाले अर्काको सम्मान गर्ने भावना र संस्कार सिकाउने कुरामा जोड दिइन्छ । त्यहाँ उत्कृष्ट क्षमता प्रदर्शन गर्ने विद्यार्थी वा शिक्षकको सूची हुँदैन ।

६. ढिला उमेरमा भर्नाः  फिनिस विद्यालयमा कुनै पनि बच्चा ७ वर्षको भएपछि मात्र भर्ना हुन पाउँछ । त्योभन्दा अगाडि ‘डे केयर सेन्टर’ को व्यवस्था छ, जहाँ पढाइ–लेखाइको काम पटक्कै हुँदैन । बरु खेल्ने, रमाउने, नयाँ साथी बनाउने कुरामा मात्र प्रेरित गरिएको हुन्छ । ७ देखि १६ वर्षसम्म विद्यालय शिक्षा रहेको छ । ९ वर्षको भएपछि मात्र अनिवार्य शिक्षा दिइन्छ ।

७. शिक्षा घोकन्ते छैनः  फिनिस विद्यालयमा घोकन्ते विद्यालाई कुनै ठाउँ दिइँदैन । घोक्ने–घोकाउने पद्धति छैन । सैद्धान्तिक भन्दा प्रयोगात्मक र व्यावहारिक शिक्षामा जोड दिइन्छ । दण्ड र सजाय भन्ने हुँदै हुँदैन । त्यहाँ प्रत्येक बालबालिकाले आत्मसम्मानको अनुभूति गर्न पाउँछन् । बालबालिकालाई माया, सद्भाव र संस्कार सिकाउने कुरामा जोड दिइन्छ । पढाउने कम, खेलाउने र मनोरञ्जन बढी दिने तरिकाले सिकाइ व्यवस्थापन गरिएको हुन्छ । विद्यार्थीको वैयक्तिक भिन्नता र रुचिलाई ध्यान दिएर सोही अनुसार सिकाइन्छ । विद्यार्थीलाई कहिल्यै एकअर्काबीच तुलना गरिंदैन र तुलना गर्न सिकाइँदैन ।
८. कम गृहकार्यः  फिनल्यान्ड संसारमै विद्यार्थीलाई कम गृहकार्य दिने मुलुक हो । यहाँ सिर्जनात्मक कार्यका लागि मात्र विद्यार्थीलाई गृहकार्य दिइन्छ । त्यो पनि विद्यार्थीले आधा घण्टाको समयमा नै सक्ने खालको हुन्छ ।

नेपालले के सिक्ने ?
नेपालको शिक्षा प्रणाली फिनल्यान्डको भन्दा निकै भिन्न छ । नेपालमा सैद्धान्तिक शिक्षालाई बढी जोड दिइएको छ, जसका कारण विद्यार्थीले सिकाइलाई जीवन र व्यवहारमा प्रयोग गर्न सकिरहेका छैनन् । जिन्दगीभर पढेर उच्च डिग्री हासिल गरिसक्दा पनि व्यक्तिले जीवनका लागि चाहिने आवश्यक सीप सिकेकै हुँदैन । हाम्रो शिक्षामा सूचना र ज्ञान प्राप्त गर्ने कुरालाई बढी जोड दिइएको पाइन्छ छ र घोकाउने पद्धतिले सिर्जनात्मक प्रतिभालाई कमजोर बनाइरहेको अवस्था छ । परीक्षालाई भयवादको अस्त्रका रूपमा प्रयोग गराइएको हुन्छ । परीक्षामा राम्रो अङ्क ल्याएपछि गुणस्तरीय शिक्षा मान्ने प्रवृत्तिले समस्या निम्त्याइरहेको छ । तर जीवनको गुणस्तर अङ्कले मात्र मापन गर्दैन । हाम्रा विद्यालयमा परीक्षालाई असाध्यै जोड दिइन्छ । एउटै सत्रमा विद्यार्थीले दर्जनौं परीक्षा पार गर्नुपर्छ । परीक्षाको भयले विद्यार्थीको कलिलो मस्तिष्कलाई भित्रभित्रै कमजोर बनाएको कुरालाई हामीले कहिल्यै ध्यान दिएका छैनौं, बरु निजी विद्यालयको देखासिकी गरेर कसले बढी परीक्षा लिने भन्नेतर्फ प्रतिस्पर्धा भइरहेको देखिन्छ । 

आमाको काखमा रमाउनुपर्ने बच्चालाई चार वर्ष नपुग्दै मन्टेसरी वा विभिन्न नामका खोरमा थुन्ने र विद्यार्थीको साइजभन्दा ठूलो झेलाको भारी बोकाएर ८ घण्टा विद्यालयमा थुनेपछि गुणस्तर आउँछ भन्ने हाम्रो मानसिकताले लाखौं सिर्जनशील विद्यार्थीको प्रतिभा समाप्त भइरहेको यथार्थतर्फ हामीले नजरअन्दाज गरिरहेका छौं । हाम्रा विद्यालयमा फिनिस विद्यालयमा जस्तो थोरै पढाइ र धेरै खेल मनोरञ्जन दिने वातावरण छैन । शिक्षकको समेत मानसिकता जति ढोका थुनेर रटाउन सक्यो त्यति राम्रो भन्ने छ । ‘घोकाइले सिर्जना सिध्याउँछ’ भन्ने सामान्य कुरा पनि हाम्रा शिक्षाविद्हरूले नबुझनु सबैभन्दा ठूलो दुर्भाग्य हो । आज नेपालमा किन भने जस्ता सिर्जनशील दिमाग जन्मिरहेका छैनन् ? किन आविष्कार भइरहेका छैनन् ? किन देश सयौं वर्षको प्रयासपछि पनि जहाँको त्यहीं छ ? यी प्रश्नहरूको उत्तर हाम्रो शिक्षा प्रणालीको सिकाइ पद्धतिसँग जोडिन आउँछ ।

हाम्रो सिकाइ पद्धतिले विद्यार्थीलाई हास्नै, रमाउनै दिंदैन, उनीहरूलाई सम्मान नै दिंदैन । बिहान ९ बजेबाट ४ बजेसम्म विद्यालयमा थुनेर नपुगेर फेरि ट्यूसनका नाममा ५/७ वर्षका खेल्ने उमेरका बालबालिकालाई शारीरिक रूपमा कमजोर र मानसिक प्रतिभाका दृष्टिले रुग्ण बनाइएको छ । त्यतिले मात्र नपुगेर घर गएपछि पनि खेल्न नपाओस्, हाँस्न नपाओस्, रमाइलो अनुभव नगरोस् भनेर राति १ः०० बजेसम्मलाई पुग्ने गरी गृहकार्यको भारी बोकाइन्छ । विचरा बच्चा धन्न बाँचेको छ ! त्यतिले नपुगेर ‘विक्ली इक्जाम’ भन्दै परीक्षाको अर्काे मनोआतङ्क सिर्जना गरिन्छ । हामीले बच्चालाई खुशी र आनन्द दिइरहेका छैनौं, बरु पीडा दिइरहेका छौं । तसर्थ, यो शिक्षा प्रणालीमा आमूल परिवर्तन हुनुपर्छ । एकैचोटि सानो मस्तिष्कमा ज्ञानको महासागर खन्याउने धृष्टता हामीले गरिरहेका छौं । तपाईं/हामी हेर्न सक्छौं कुन विद्यालयले विद्यार्थीलाई खेल्ने र रमाइलो गर्ने वातावरणमा जोड दिएका छन् ? हाम्रो मनस्थिति नै यस्तो भइसक्यो परीक्षामा राम्रो ग्रेड ल्याएपछि संसार जितियो । अरू केही चाहिंदैन । 

अर्काे कुरा, हामीले विद्यार्थीलाई यति तुलना गर्छाैं कि त्यो भनिसाध्य छैन । अभिभावकले पनि ‘फलानाको छोरो हेर त कस्तो छ, हाम्रो त यस्तो’ भनेर तुलना गरिरहेका हुन्छन् भने शिक्षकले पनि ‘तँ त्यो जस्तो किन बनिनस्’ भनेर यातना दिइरहेका हुन्छौं । तर संसारमा कोही मान्छे कोहीसँग तुलना नै हुँदैन, हरेक मान्छे आफैंमा ‘युनिक’ हो भन्ने प्राकृतिक सिद्धान्तलाई हाम्रो शिक्षा प्रणालीले आत्मसात् गर्नै सकेन ।

फिनल्यान्डको शिक्षा प्रणालीलाई हुबहु लागू गर्नुपर्छ भन्ने होइन तर यसका राम्रा पक्षमा ध्यान दिएर हाम्रो शिक्षा नीति बनाइनुपर्छ । जस्तो, गृहकार्य कम दिनलाई कुनै आर्थिक सम्पन्नता चाहिंदैन । परीक्षा कम गर्न कुनै साधन र स्रोत जरूरी पर्दैन । विद्यार्थीलाई दण्ड र सजाय नदिने प्रतिबद्धता गर्न पनि पैसा चाहिंदैन । यस्ता थुप्रै सन्दर्भ छन्, जहाँ फिनिस शिक्षा प्रणालीबाट नेपालले पाठ सिक्न सक्छ । फिनल्यान्डबाट सिक्नुपर्ने अर्काे कुरा शिक्षकप्रतिको सम्मान हो । त्यहाँ शिक्षक बन्नु गौरवको कुरा हो र पो त्यहाँका शिक्षकले राम्रो पढाइरहेका छन् । तर हामीकहाँ आज सबैभन्दा ‘अपमानित पेशा शिक्षक’ भन्ने झूट–भाष्य निर्माण भइरहेको छ । ‘कतै नबिकेपछि शिक्षकमा जाने हो’ भन्ने संकुचित मानसिकताले शिक्षण पेशाको मर्यादा र शिक्षकको मनोबललाई कमजोर बनाइरहेको छ । ‘घूस नखाने पेशा’ भनेर शिक्षकलाई छोरी दिन नमान्ने सामाजिक मनोविज्ञान निर्माण हुँदै गरेको देशमा धन्न शिक्षकले पढाएका छन् भनेर स्याबासी दिनुको सट्टा उल्टो शिक्षकलाई ‘तनाव र दबाब’ दिने मात्र काम हुनु दुर्भाग्यपूर्ण हो । अहिले आएर राम्रो पढाएर पनि कतै जस नपाउने शिक्षण पेशा नै भएको छ । स्थानीय निकायको चर्काे हस्तक्षेप, राजनीतिक स्वार्थको दाउपेच, अभिभावकको टोकसो, व्यवस्थापन समितिको हैकमवाद, प्रअको निरङ्कुशताका बीच पनि आम शिक्षकले आज पनि आफ्नो कर्तव्य बिर्सेका छैनन् । 

युवराज पौडेल
काजीमान हरिटीका मावि, स्याङ्जा बजार, स्याङ्जा

साभारः- शिक्षक मासिक २०७६ माघ अंकमा प्रकाशित । 


Post a Comment

0 Comments