- डा. विद्यानाथ कोइराला
हलीको कसी
डाँफा नहाली जोत्ने हली योग्य हो । राँटो नराख्ने हली योग्य हो । हलो गाडेर जोत्ने हली योग्य हो । हलो नहल्लाई जोत्ने हली योग्य हो । यी योग्यताको आधार जमीन हो । जमीनवालाको दृष्टि हो । गोरुहरू नदोब्रिने गरी जोत्ने हली योग्य हो । उनीहरूको खुट्टामा फाली लाग्न नदिने हली योग्य हो । गोरुहरूको दृष्टिमा योग्य हली । आफ्नो मेरुदण्ड नदोब्रिने गरी अनौ समाउने हली योग्य हो । ओरालोमा लामो अनौ र उकालोमा छोटो अनौ राख्ने हली योग्य हो । हलीकै दृष्टिमा योग्य । यसरी हेर्दा हलीले योग्य हुन धेरै कुरा सिक्यो । हली हुनुपूर्व अवलोकन गरेर । हली भएपछि अनुभूत गरेर । यस क्रममा उसले जान्यो– अनौको उचाइ कति राख्ने ? आफू अग्लो भए कति ? आफू होचो भए कति ? बारी भिरालो भए कति ? सम्म बारी भए कति ? उसले आफूलाई सहज हुने योग्यता बनायो । हरिस कति लामो राख्ने ? लामो हरिस भए छोट्याउनका लागि ठेडी कहाँ ठोक्ने ? छोटो भए लम्ब्याउन के गर्ने ? गोरुलाई फाली लागे के गर्ने ? गोरु नहिंडे के गर्ने ? जोत्दा जोत्दै बसे के गर्ने ? काँध बटारे के गर्ने ? काँध लागे के गर्ने ? हलो घोसे भए कसरी ठाडो पार्ने ? ठाडो भए कसरी मिलाउने ? यी र यस्ता कुरा हली आफैंले जान्दछ । नभए अरूसँग सिक्छ । यसरी एक बाली पकाउँदा हली पक्का बन्छ । गोरुधनीले भन्छ– यो हलीको हात हल्का छ । जोताइमा डाँफा हुन्न । छेउकुना सबैमा हलो पु¥याउँछ । बालीलाई पुग्ने गरी जोत्छ । गोरु पनि कुट्दैन । धकाए शीतलमा राख्छ । भोकाए मेलैमा खान दिन्छ । तिर्खाए पानी खुवाउँछ । थाके एकछिन थकाइ मार्न दिन्छ । त्यति वेलै आफू काम गर्छ । वेलैमा गोरु नार्छ । समयसम्म जोत्छ । जोत्न लैजाँदा पेट भरे नभरेको हेर्छ । घरमा पु¥याउन आउँदा बाँधेर घाँस हालिदिन्छ । आफूलाई चाहिने सरसामानको जोहो गरी जोत्न जान्छ ।
हलीको कसीमा हामी शिक्षक
हली नपढेको थियो । अब साक्षर होला । भोलि अर्ध शिक्षित । हलीको शैक्षिक योग्यता बदलिंदा पनि उसको पेशागत योग्यता त्यही हो । हुन्छ । हामी शिक्षकको पनि त्यही अवस्था हो । जुन तहमा पढाए पनि जाँच्ने कसी । जाँचिने कसी । डाँफा नहाल्ने शिक्षकले लटपट गर्दैनौं । झरा टार्दैनौं । पाठ्यक्रमका सबै उद्देश्य पूरा गर्छौं । पाठ्यपुस्तकका सबै अवधारणा दिन्छौं । प्रश्न यहीं रह्यो– के हामी डाँफा हाल्ने हली जस्तै शिक्षक हौं त ? योग्यताहीन हौं त ? पढ पढ भन्ने । नपढाउने । हौं भने अयोग्य हौं । झरा टार्ने शिक्षकको यो कुरा जाँचमा आउँछ । यो नपढे पनि हुन्छ भन्ने शिक्षक डाँफा हाल्ने शिक्षक हौं । गालटारा शिक्षक । राँटा राख्ने शिक्षक हुँदा कसैलाई पढाउँछौं । कसैलाई छोड्छौं । यस अर्थमा जान्नेलाई पढाउने । नजान्नेलाई छोड्ने । नियमित विद्यार्थीलाई पढाउने, अनियमितलाई छोड्ने । के हामी यसो गर्छौं त ? त्यसो भए हामी राँटा राख्ने शिक्षक भयौं । अयोग्य । हलो हल्लाउने हली जस्ता भयौं । विद्यार्थीलाई शारीरिक कष्ट दियौं त ? त्यसो भए गोरुलाई फाली लगाउने हली जस्ता भयौं । गोरु दोब्रिंदा पनि हलोमा समस्या छ कि भनी नखोज्ने हली । पाठ्यक्रम र पाठ्यपुस्तकलाई सान्दर्भीकरण गर्न नजान्दा भिरालो र सम्म बारी जोत्दा चाहिने अनौको उचाइ नमिलाउने हली । पाठ्यपुुस्तकलाई जनज्ञानसँग नजोड्दा घोसे र ठाडो हलो मिलाउन नजान्ने । पढ्न नसक्ने र नजान्नेहरूलाई विशेष कार्यक्रम नल्याउँदा बसुवा गोरुलाई हिंडाउन नजान्ने हली । बालबालिकाको पीडा नबुझदा काँध लागे नलागेको थाहा नपाउने हली । स्कूलपछि बालबालिका के गर्छन् भनी नखोज्दा जोतेर घर आएका गोरुलाई त्यसका धनीले घाँस खाए नखाएको वास्ता नगर्ने हली । अयोग्य हली । तर डाँफा हालेनौं । योग्य भयौं । राँटा राखेनौं । योग्य बन्यौं । फाली लाएनौं । योग्य बन्यौं । काँध दुखाएनौं । योग्य बन्यौं । यसरी हेर्दा हामी योग्य शिक्षक छौं । योग्यत्तर छौं । अयोग्य पनि छौं । बाली पकाएको हली जस्तो ।
शिक्षक र विद्यार्थीको कसीमा हामी शिक्षक
योग्य र अयोग्य शिक्षक विद्यार्थीले छुट्याए । शिक्षक स्वयंले छुट्याए । बाँके, बाजुरा र कास्कीको अध्ययनले त्यसै भन्छ । शिक्षक पत्रिकाले भर्खरै गरेको अध्ययन हो यो । अध्ययनमा संलग्न केही शिक्षकले भने ७५ प्रतिशत शिक्षक पढ्दैनौं । नपढ्नेहरूलाई उनीहरूले अयोग्य ठाने । अन्य केहीले ठम्याए ६० प्रतिशत अयोग्य शिक्षक छौं । सोही अध्ययनका अन्य उत्तरदाताको अर्कै सोच थिए । योग्य भनेर भर्ना गरेपछि सबै योग्य हौं । तालीम र योग्यताको प्रमाणपत्रधारी सबै योग्य हौं । त्यसो भन्नेले पनि स्वीकारे रोचक ढंगले नपढाउने अयोग्य हौं । अभिभावकसँग वेलाबखतमा भेटघाट र छलफल नगर्ने अयोग्य हौं । उनीहरूकै शब्दमा ‘गोठाला जस्तो लट्ठी लिएर कक्षामा जाने’ अयोग्य हौं । सामाजिक कुरीति नहटाउनेहरू अयोग्य हौं । कुरीतिकै वकालत गर्ने महा–अयोग्य ।
अध्ययनका उत्तरदाताले भने– जिम्मेवारी बोध गर्ने शिक्षक योग्य हौं । बालमनोविज्ञान अनुसार पढाउनेहरू योग्य हौं । व्यवहारबाट किताबी कुरामा जोड्नेहरू योग्य हौं । किताब बाहिरका कुरा पढाएर किताब पढ्न प्रेरित गर्नेहरू योग्य हौं ।
अभिवृत्तिको कसीमा शिक्षक
पश्चिमाहरूले आत्म–मूल्याङ्कनका प्रश्नावलीहरू बनाए । अभिवृत्ति मापन प्रश्नावली । ती प्रश्नावलीहरूले प्रवृत्ति जाँचे । जाँच्न लगाए । संलग्न प्रश्नावलीले भन्छ– शिक्षक हुन र उपदेशक हुन वेग्लावेग्लै प्रवृत्ति चाहिन्छ । चिनियाँ उखान जस्तो । उनीहरू भन्छन्, “हँसिलो मुख नहुनेले पसल नखोल्नु ।” यो पेशेवर गुण हो । पसले हुने गुण । शिक्षक हुनेमा पनि अध्ययनहरूले अनेकन् गुण खोजे । के ती गुण ममा छन् त ? छैनन् भने म ती गुणहरू आर्जन गर्न सक्छु त ? सक्तिनँ भने म शिक्षक हुन लायक हुँ त ? शिक्षक हुन लायक छैन भने यो पेशा छोड्न तयार छु त ? नालायक हली छुटाउँछौं । हली आफैं छुट्छ । लायक हुन हलीले प्रयास गर्छ । के त्यस्ता प्रयासहरू गर्न हामी क्रियाशील छौं त ? आफूले आफैंलाई जाँचौं । जाँचमा अयोग्य ठहरिए योग्य हुने बल गरौं । सकिन्न भने मैदान खाली गरौं । हली हटे जस्तो । हली हटाइए जस्तो ।
योग्य शिक्षक बन्ने उपाय
कोही प्रवृत्तिका शिक्षक छौं । जन्मजात शिक्षक । कोही आर्जित शिक्षक । भिन्न प्रवृत्तिका तर तालीमले शिक्षक बनेका । अनुभवले शिक्षक बनेका । बाध्यताले शिक्षक बनेका । प्रवृत्तिगत हौं वा आर्जित—हामी शिक्षक हौं । दलका शिक्षक भए दलीय चिन्तन अनुसारको कक्षाकोठा बनाउन थालौं । पेशाकर्मी शिक्षक भए पेशाकर्मी शिक्षकको रूपमा काम गरौं । हली, हाम्रा शिक्षक तथा विद्यार्थीको कसी र अभिवृत्तिको कसीमा अयोग्य शिक्षक हौं भने आफूलाई बदल्न थालौं । बदल्न सजिलो छ । हलीसँग सिक्ने । कसरी राँटा मेटाउन जान्यौ भनेर । कसरी डाँफा हाल्ने बुद्धि हटायौ भनेर । कसरी बसुवा गोरु तह लगायौ भनेर । कसरी हिंडुवा तथा बसुवा दुवैखाले गोरुलाई माया ग¥यौ भनेर । शिक्षक एवं विद्यार्थीको आँखामा असल शिक्षक बन्ने उपाय खोजेर । आत्म–मूल्याङ्कनबाट असल पेशाकर्मी बन्ने प्रयास गरेर । असल पेशाकर्मीको पदचिन्ह पछ्याएर । खराब पेशाकर्मीबाट आफूलाई अलग्याएर ।
टुंगोको टुंगो
हिजो शिक्षक भए पुग्थ्यो । पढ्नेहरू कम थिए । पढाउनेहरू कम थिए । त्यसैले हामी ठीक थियौं । विद्यार्थी पिट्ता पनि ठीक । पढाइ बन्द गरेर जन्त र जात्रा जाँदा पनि ठीक । अलि दिन नपढाए पनि ठीक । हाड घोटेर पढाए पनि ठीक । तर पनि इतिहासले मूल्याङ्कन गरेको थियो । पढाउने शिक्षक । ठग शिक्षक । हराम शिक्षक । अब स्थिति बदलिएको छ । विकल्पहरू पर्याप्त छन् । सरकारी स्कूलले नपढाउँदा निजीमा जाने । निजीमा नपढाउँदा राम्रा सरकारी स्कूलमा जाने । सके घरपायकमा पढ्ने । पढाउने । नसके आवासीय गरिदिने । त्यस्तै शिक्षक हुनेहरू पनि बग्रेल्ती छौं । लालबन्दी र कालीमाटीको तरकारी पसल जस्तो । जहाँ किने पनि हुने । यो स्थितिमा हामीले सोच्नै पर्छ । शिक्षक पेशामै बस्ने भए गतिलो शिक्षक बन्न । लटपट गर्ने भए जागीर छोड्नै पर्छ । बजारका मेधावीलाई पेशाकर्मी बन्न दिने । बाल अधिकारकर्मी त्यसै भन्छन् । प्रणालीगत सक्षमता ९कथकतझष्अ भााष्अष्भलअथ० खोज्नेहरू त्यसै भन्छन् । भ्रष्टाचार विरुद्ध काम गर्नेहरू त्यसै भन्छन् । नपढाउने शिक्षक भ्रष्टाचारी हौं । पढाउन नजाने सिकौं । भ्रष्टाचारी शिक्षक नबनौं । एक बाली पकाएको हली पक्का बने जस्तो । एक व्याच पढाएका शिक्षक योग्य छौं भन्ने सन्देश दिऔं ।
मेरो टुंगो हो– शिक्षक योग्य छौं । तर थोरै । योग्य र अयोग्यको दोसाँधमा छौं । धेरै त्यस्ताहरूले योग्य हुन बल गरौं । केही अयोग्य छौं । कि प्रयास गरौं कि शिक्षक पेशा छोडौं । हाम्रो हेलचेक्र्याइँले बालअधिकार अवरुद्ध हुन्छ । पैसा लिने काम नगर्ने हुँदा हामी भ्रष्टाचारी ठहर्छौं । मिहिनेत नगरी खाने हराम बन्छौं । हामीलाई थाहा छ– हलीले नजोते निकाल्छौं । गोरु नहिंडे बदल्छौं । हलो काम नलागे मिलाउँछौं । के त्यही बुद्धिलाई हाम्रो पेशामा मिलाउन सक्तैनौं र ? के योग्य शिक्षकहरूको आधिपत्य कायम गर्न सक्छौं त ? योग्य र अयोग्यको बीचमा रहेका शिक्षकहरू पेशाकर्मी बन्न थाल्छौं त ?
दोष कतै होला । अनपेक्षित नीति । राजनीतिक अन्योल । अव्यावहारिक पाठ्यक्रम । जीवनसँग नजोडिएको पाठ्यपुस्तक । शिक्षाशास्त्रमा पढाउने हामी जस्ता शिक्षक । तालीम कार्यक्रम । यसरी बाहिर दोष देख्नेहरू बाह्य समालोचक (outwardly critical) हौं । शिक्षक हुनुभन्दा अगाडिका दोषी । शिक्षक भइसक्यौं । आफ्नो अयोग्यता ढाक्न अरूलाई दोष दिएर पुग्छ र ? हलो, गोरु, जुवा, जोतारो र हल्लुड लिएर खेतबारीमा पुगिसक्यौं । बाली लगाइसक्यौं । जति दोष अरूलाई दिए पनि खेतबारी जोत्नु छ । डाँफा नराखी । राँटा नपारी । गोरुलाई दुःख नदिई । आफूलाई अप्ठेरो नबनाई । पेशागत हरामीपनाबाट बच्नु छ । त्यसैले आफैंमा समस्या खोजौं । आत्म–समालोचक (inward critical) बन्न थालौं । बाह्य–समालोचक बन्नाले आत्मरति त हुन्छ । पेशाकर्मी बन्दैनौं । आत्मालोचक भएमा परदोष घटाउँछौं । पहिले शिक्षक हुन थाल्छौं । योग्य शिक्षक । अनि बाह्य–समालोचक बन्दा आफूमा तागत आउँछ । योग्य शिक्षक बन्ने तागत । योग्य बनेरै अयोग्यलाई भन्ने तागत । अन्यथा ठेला पास हुन्छ । (bulk passing) । शिक्षकले प्राध्यापकलाई । पाठ्यक्रमलाई । पठनपाठनलाई । तर बालबालिकालाई भने अन्याय नै हुन्छ । बिरालोको ख्यालख्यालमा मुसाको छ्यालव्याल जस्तो ।
द्रष्टव्यः हली संकेत हो । सांकेतिक संवाद । सांकेतिक अथ्र्याइ । (symbolic interactionism) । शिक्षक हली हो । हली शिक्षक हौं । यस अर्थमा सादृश्यता (analogical) । शिक्षक र विद्यार्थीका अनुभूति हाम्रा पृष्ठपोषण हुन् । जग्गाधनीको अनुभूति हलीलाई पृष्ठपोषण भए जस्तो । बालबालिका खेतबारी हुन् । जोत्नुपर्ने । खेती गर्नुपर्ने । जनवादी, व्यावहारिक, जनमुखी, समाजवादी, राष्ट्रवादी, वैज्ञानिक शिक्षाको वकालत गर्दा हली गतिलो गुरु मानिन्छ । मानौं । म पनि एउटा हली हँु । अनुभवबाट सिक्ने । पृष्ठपोषणबाट सिक्ने । सहकर्मीबाट सिक्ने । वर्ष दिनको बाली पकाएपछि योग्य हली भए जस्तो । वर्ष दिन पढाएपछि योग्यतर शिक्षक बनौं
साभारः प्रकाश तिवारीकाे सचिवालय fb वालबाट
0 Comments