जिब्रोको स्वाद र स्वास्थ्य

नेपाल र भारत जस्ता देशमा पहिलेपहिले पोषण र स्वास्थ्यको छलफलमा केवल कुपोषण र रक्तअल्पता समेटिन्थ्यो । हैजा र पखाला पनि समस्या थिए । ती अहिले पनि यथावत छन् । अहिले अर्को समस्या पनि थपिएको छमोटोपन ।

मोटोपनले सिर्जना गर्ने मुटु रोगलगायतका स्वास्थ्य समस्या पहिले जस्तो युरोप र अमेरिकाको मात्र होइन; अहिले त नेपाल, भारत, बंगलादेश जस्ता मुलुकका पनि साझा बनेका छन् ।

झण्डै दुई वर्षअघि राज (नाम परिवर्तन) सँग भेट भयो । उनलाई भनें, ‘तपाईं भन्दा अघि त तपाईंको पेट हिंड्दो रहेछ । कम्मर त कमरा भएछ । यो त स्वास्थ्यलाई खतरा हुन्छ है !उनले त्यतिबेला भनेका थिए, ‘अँ मलाई पनि थाहा छ । तौल घटाउन कोशिस गर्दैछु ।

हालसालै उनीसँग जम्काभेट भयो । उनको अगाडि आएको ठूलो पेट त खर्लप्पै घटेछ, कम्मर त कमरा (कोठा) बाट पुनः कम्मर नै भएछ । उनलाई हेर्दा त उनको उमेर नै ५७ वर्ष कम भए जस्तो लाग्यो । मैले भनें, ‘तपाईंले त के चमत्कार गर्नुभयो यस्तो, निकै राम्रो स्वास्थ्य भएछ नि ! कतै गएर पेटको शल्यक्रिया गरेर आउनुभएको त होइन ?’

ठट्टा गरेर सोधेकी थिएँ, राजले गम्भीर भएर जवाफ दिए— ‘होइन होइन, मैले मेरो पेट वरिपरिको १५ किलो त योग, हिंडाइ र खानामा कमी गरेर घटाएको हुँ । दुब्लोबाट मोटो हुन त सजिलो हँुदोरहेछ तर एकचोटि बोसो लागेपछि त घट्न पो गाह्रो हुने रहेछ । तर जब मैले अनुभव गरें कि मेरो लुगाहरू त कसिएर लगाउनै नहुने भए, अलिकता हिंड्दा स्वाँस्वाँ हुन थाल्यो अनि त तौल घटाउने निर्णय गरें । कस्सिएर लागेपछि सफल पनि भएँ ।

साथीहरू पनि जम्मा भएर राजको घटेको पेटको प्रशंसा गर्दैथिए । राज मुसुमुसु हाँसेर प्रशंसा स्वीकार्दै थिए ।

त्यसैगरी पारु श्रेष्ठ (३३ वर्षीया एक महिला) ले पनि आफ्नो तौल ७५ किलोबाट ६० किलो (१० महिना भित्र) झारेकी थिइन् । उनी विवाह अघि ५६ किलो थिइन् । अग्ली, पातली पारुको विवाह पछि खानपान र जीवनशैली बदलियो ।

एउटा बच्चा पाएपछि त झन् चाकु, घिउ, मासु, अण्डा आदिले गर्दा उनको जीउ त फैलिंदै गयो । उनका बुवा ३० वर्ष नपुदै मधुमेहले बितेका थिए । आमा र बहिनी दुवै मधुमेहको उपचार गरिरहेका छन् । मैले उनलाई भनें, ‘पारुजी तपाईं त होशियार हुनुपर्छ है ! तपाईंको परिवारमा निकै समस्या छन् । तपाईं यसरी नै मोटाउनुभयो भने तपाईंलाई पनि ती समस्या आउन सक्छन् । तपाईंको छोरो छ । अन्तर्राष्ट्रिय संस्थामा काम गरिरहनुभएको छ । अगाडि त्यति ठूलो भविष्य छ, स्वास्थ्य नै नराम्रो भएपछि त जति काम गर्न सक्ने हो, त्यति गर्न सकिन्न । त्यो बाहेक जति पैसा भए पनि तपाईंले त्यसको प्रयोग आनन्दपूर्वक गर्न पाउनुहुन्न ।

मैले उनलाई पटकपटक शरीरलाई ध्यान दिन र खाना कम गर्न भनेपछि एकदिन खुशी भएर उनले भनिन्, ‘मलाई तौल कम गराउने संस्थाले आउनु भनेको छ । उनीहरूले ४० हजार लिएर ग्यारेन्टीका साथ तौल कम गराउँछन् रे दुई हप्तामा । उनीहरूले खानेकुराको चार्ट पनि दिन्छन् रे ! केही औषधि पनि दिन्छन् रे !

 पारुको खुशीलाई काट्दै मैले भनें, ‘पारुजी त्यसरी ग्यारेन्टीका साथ तौल कम गर्ने कुनै व्यक्ति वा संस्थाले तपाईंलाई भन्छ भने, त्यो त सोह्रै आना ठग हो । त्यस्तो कुनै औषधि छैन, जसले जादुको छडीले झैं तपाईंको तौल कम गराओस् । फेरि त्यस्ता औषधि केकस्ता हुन्, कसरी काम गर्छ थाहा नै नपाइकन कसरी प्रयोग गर्नुहुन्छ ।

त्यसरी औषधि प्रयोग गरेर तौल घट्ने भए त अमेरिकाका त्यतिका मानिसले घटाउँथे होलान् नि ! त्यसरी एकैचोटि तौल घटाउने क्रियालाई त्याग्नोस् र खानेकुरा कम गर्नोस् । कोदो, फापर, गहुँको च्याँख्ला आदिको प्रयोग बढी गर्नुस् । चकलेट धेरै नखानोस् र प्रमुख कुरा पानी खाने र व्यायाम गर्नुस् । त्यो ४० हजार चाहिं राख्नोस् र तपाईंको तौल कम भएपछि कुनै राम्रो काममा प्रयोग गर्नुस् ।

त्यसपछि उनले कोदो र फापर किनिन् र त्यसैलाई आफ्नो दैनिक भोजनको अंग बनाइन् । हरियो तरकारी र टुसा उमारेको तरकारी अफिसमै लैजान थालिन् । बिहान उठेर व्यायाम गर्न थालिन् । दुई महिनामा उनको तौल ५ किलो कम भयो । उनको अनुहारको छालामा चमक आयो । ६ महिनामा त उनको १० किलो तौल घट्यो । पारु झण्डै बिहेअघिको जस्ती भइन् ।

तपाईंले मेरो ४० हजार त बचाउनुभयो, साथै मलाई अत्यन्तै जीवनोपयोगी ज्ञान पनि दिनुभयो’, एकदिन उनले खुशी हुँदै भनिन् ।

पारु र राजको मोटोपनबाट छुटकारा पाउने घटना शायद कमै मानिसको कथा होला । धेरैलाई मोटोपनबाट छुटकारा पाउन निकै गाह्रो हुन्छ । किनभने खाना खाएर, मज्जासँग सुतेर, तेल र मसला हालेको मासु खाएर तौल जति मज्जासँग बढ्छ त्यति नै मज्जासँग घटाउन गाह्रो हुन्छ ।

मासु र तारेको आलुका स्वाद त जिब्रोमा यसरी बसेको हुन्छ कि त्यसको अगाडि पछि हुने दुखाइ पनि बिर्सिइन्छ ।

कति जना मानिसहरू यस्तै खाना र बियरबाट हुने मोटोपनको कारणले हुने उच्च रक्तचापको कारणले पक्षघातभएपछि पनि रक्सी, मासु, तेल हालेको खान छोड्दैनन् र वास्तवमा विस्तारै आत्महत्या गरिरहेका हुन्छन् । लोग्ने मानिसहरू मात्र होइन, महिलाहरू पनि मोटोपनले पैदा हुने समस्याले ग्रस्त हुन्छन् तर पनि जिब्रोलाई तह लगाउन सक्दैनन् ।

५२ वर्षकी शोभा (नाम परिवर्तन) जो एक पत्रकार पनि हुन्; लाई केही दिनअघि भेट्दा उनको पेट त घ्याम्पो जस्तै भएको रहेछ । मेरो आँखा पढेर होला उनले भनिन्, ‘हेर न नखाउँ भन्दाभन्दै कोच्याएका छन् मानिसले, त्यसैले अलि पेट बढेको छ ।

५ फिटकी शोभा ७५ किलोग्रामकी भइछन् । उनलाई देख्दा लाग्यो, कसरी भुईंतिर हेर्छिन् होला ! चार तला माथि भर्‍याङ चढ्दा त उनलाई स्वाँस्वाँ नै भयो । तर पनि उनले भनिन्, ‘मेरो त तौल घटाउने कुनै विचार छैन । तिमीले भने जस्तो कोदो, फापर र टुसा उमारेको दिनदिनै खान गाह्रो हुन्छ मलाई ।

उनलाई अब खानाको विषयमा कुरा गर्न छाडिसकेकी छु । किनकि जबसम्म मनैबाट तौल घटाउँछु भनेर लाग्दैन, हाम्रो भाषण र लेखले केही काम गर्दैन ।

मध्यमवर्गीय परिवारमा मात्र होइन, गाउँका मानिसमा पनि विभिन्न किसिमका जंकफुडले मोटोपनको समस्या बढ्न थालेको छ । यसले मानिसलाई धेरै प्रकारका समस्या देखिन्छ । स्वास्थ्य त चौपट नै हुन्छ । तर पनि जिब्रोको स्वाद रोक्न किन नसकेको होला ?

नेपाली सरकारी कर्मचारीहरूको बीचमा गरिएको एक अनुसन्धानका अनुसार ३३ प्रतिशतमा मोटोपन र केहीमा अति मोटोपन देखिन्छ । मोटोपनले मुटुको रोग, मधुमेह, मिर्गौलासम्बन्धी समस्या, ढाड र घुँडा दुख्ने समस्या निम्त्याउँछ । मोटोपनले कतिपय महिलामा गर्भधारण नै गर्न नसक्ने समस्या पनि देखिन्छ । मोटो मानिसको शल्यक्रिया र त्यसको रिकभरीपनि गाह्रो हुन्छ ।

मोटोपन घटाउन पहिले जीवनपद्धति र खानामा नै ध्यान दिनुपर्छ । केही औषधिको प्रयोगले हुने मोटोपन पनि हुन्छ तर त्यसको लागि सम्बन्धित डाक्टरसँग नै सल्लाह लिएर शरीर स्वस्थ राख्न सकिन्छ ।

पहिले पहिले ४०४५ वर्षपछि हुने मुटुसम्बन्धी समस्या नेपालमा अहिले ३०३५ वर्षका मानिसलाई पनि देखिन थालेको छ । त्यस्तै महिलामा पनि यस्तो समस्या देखिन थालेको छ । यसको कारण खानपान र जीवनपद्धति नै हो ।

के मोटोपन घटाउने उपाय छैन त ? छ । पारुले जस्तै भोजनमा परिवर्तन, व्यायाम र योगाभ्यास गरेर तौल घटाउन सकिन्छ । हिंडाइ, पर्याप्त पानी पिउने, विभिन्न चिसो पदार्थ कोक, फ्यान्टाका साथै चाउचाउ, बोसो, घिउ, चिज आदि वस्तु आफ्नो दैनिक जीवनबाट सकेसम्म घटाएर हरियो तरकारी, कोदो, फापर, भटमास आदिलाई आहारमा राख्नुपर्छ । बालबालिकाको खाजामा चाउचाउ होइन, चिउरा र रोटी राखिदिनुपर्छ ।

डा. अरुणा उप्रेती

साभारः Onlinekhabar.com

Post a Comment

0 Comments